Press Release
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्रOctober 15, 2009
२०६६ असोज २९ गते, काठमाडौं ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २७ देखि २९, २०६६ (अक्टोबर १३-१५, २००९) मा काठमाडौमा सम्पन्न भयो । सम्मेलनलाई सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, राष्ट्रिय जीवनका विविध क्षेत्रका व्यक्तित्वहरु र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले सम्वोधन गर्नु भएको थियो । सम्मेलनमा अभिव्यक्त विचार र धारणाहरुलाई समावेश गर्दै चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ काठमाडौ घोषणापत्र जारी गरिएको छ ।
१) मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, क्षेत्रीय अखण्डताको संरक्षण, दिगो शान्ति, लोकतान्त्रिक एवम समावेशी गणतन्त्रको संस्थागत विकास, मानवअधिकार र मौलिक स्वतन्त्रताको प्रत्याभूति, देश भित्र र वाहिर रहेका सम्पूर्ण नेपालीहरुको साझा चाहना र जिम्मेवारी हो भन्ने सम्मेलन उद्घोष गर्दछ ।
२) हरेक नेपालीको प्रतिष्ठा नेपालको प्रतिष्ठासंग अभिन्नरुपमा गांसिएको हुंदा नेपाललाई शान्त र समृद्ध मुलुक बनाई अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको इज्जत उच्च बनाइराख्न देश भित्र र वाहिर रहेका सम्पूर्ण नेपालीको सहकार्य आवश्यक छ भन्नेमा यो सम्मेलन जोड दिन्छ ।
३) जारी शान्ति प्रक्रियालाई तार्किक एवम् सकारात्मक निश्कर्षमा पुर्याउन, निर्धारित समयभित्र संविधानसभाबाट लोकतान्त्रिक संविधान तयार गरी लागू गर्न र मुलुकको सामाजिक आर्थिक रुपान्तरणका लागि सहकार्य गर्न राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट सम्मेलनका क्रममा व्यक्त प्रतिवद्धतालाई स्वागत गर्दै मुलुकको समसामयिक राजनीतिक परिस्थितिले शीघ्र निकास पाउनेमा यो सम्मेलन विश्वस्त छ ।
४) गैरआवासीय नेपालीको पहिचान र उनीहरुको मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा सहभागी हुने आकांक्षालाई मूर्तरुप दिन नेपाल सरकारले ल्याएको गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ को यो सम्मेलन स्वागत गर्दै यसको कार्यान्वयनमा जोड दिन्छ । साथै, गैरआवासीय नेपालीको परिभाषा लगायत अन्य विषयमा सम्मेलनमा उठेका समसामयिक सुझावलाई सम्वोधन गर्न राष्ट्रिय सहमतिका आधारमा उपयुक्त कदम चाल्न आव्हान गर्दछ ।
५) यो सम्मेलन गैरआवासीय नेपालीले उठाउंदै आएको दोहोरो नागरिकताका लागि सबै राजनीतिक दलहरुबीच आपसी समझदारीको आधारमा सकारात्मक ढंगमा सम्वोधन गर्ने सरकारको प्रतिवद्धताको पूर्ण र्समर्थन गर्दछ ।
६) नेपाल सरकारले सन् २०१० जनवरी भित्र नेपालमा परराष्ट्र मन्त्रालय तथा विदेशमा नेपाली नियोग मार्फत गैरआवासीय नेपाली परिचयपत्र वितरण गर्ने प्रतिवद्धताको यो सम्मेलन स्वागत गर्दछ ।
७) नेपाल सरकारले आर्थिक कूटनीतिलाई आफ्नो परराष्ट्र नीतिको एक अभिन्न अंगको रुपमा अघि सारेको परिप्रेक्षमा विदेशस्थित नेपाली नियोगहरुले नेपालको पर्यटन, व्यापार, लगानी तथा वैदेशिक रोजगार प्रवर्द्धन जस्ता आधारभूत क्षेत्रमा गैरआवासीय नेपालीको संलग्नता सशक्त र दिगो पार्दै लैजाने सरकारको नीतिको यो सम्मेलन पूर्ण समर्थन गर्दछ । नेपालको आर्थिक कूटनीतिलाई सफल बनाउन गैरआवासीय नेपाली संघको संजाललाई पूर्णरुपमा परिचालन गरिनेछ । मुलुकको दिगो विकासका लागि ज्ञान र सीपको पूवाधार विकास गर्न विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्रिय योजना तर्जुमा गर्दा यस क्षेत्रलाई उचित प्राथमिकता दिन यो सम्मेलन जोड दिन्छ ।
८) गैरआवासीय नेपाली समुदायले नेपालमा निरन्तर गर्दै आएको विभिन्न विकासमूलक, सामाजिक एवं परोपकारी कार्यमा गरेको आर्थिक सहयोगको स्वागत गर्दै यो सम्मेलन यस क्षेत्रमा थप सहयोग गर्न गैरआवासीय नेपाली समुदायलाई आव्हान गर्दछ । यसै परिप्रेक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हालै गर्नु भएको पशुपतिक्षेत्र अर्न्तर्गत कृयापुत्री भवन परिसरको जिर्णोद्वार एवं पुनर्निर्माण, तर्राईका ४ र पहाडका २ गरी ६ जिल्लामा समता शिक्षा निकेतनका लागि भवन निर्माणका साथै सिराहामा परोपकार अस्पताल निर्माणमा आर्थिक सहयोग गर्ने घोषणाको स्वागत गर्दछ ।
यसका अतिरिक्त, राष्ट्रिय समन्वय परिषदहरुका तर्फबाट विभिन्न स्थानमा संचालित परोपकारी योजनाको स्वागत गर्दै यो सम्मेलन गैरआवासीय नेपाली समुदायलाई नेपालको ग्रामीण तथा द्वन्द प्रभावित क्षेत्रमा विभिन्न विकासमूलक एवं परोपकारी कार्यहरु संचालन गर्न आव्हान गर्दछ । गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदद्वारा नेपालमा लोककल्याणकारी सामाजिक क्षेत्रमा कम्तिमा एक/एक परियोजना सुरु गर्ने विषयमा तेस्रो विश्व सम्मेलनमा व्यक्त प्रतिवद्धतालाई स्मरण गर्दै यो कार्यलाई अघि बढाउन अभिप्रेरित गर्दछ । जलवायु परिवर्तनवाट उत्पन्न समस्यासंग जुध्न, खाद्य सुरक्षा प्रत्याभूत गर्न र वातावरणीय संरक्षण गर्न नेपाल सरकारले चालेका प्रयासमा गैरआवासीय नेपाली समुदायको सक्रिय सहयोग रहनेछ ।
९) वैदेशिक रोजगारवाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै त्यस क्षेत्रमा रहेका विसंगती र चुनौतीको अध्ययन गर्न नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा यथाशीघ्र एक कार्यदल बनाई सुझाव संकलन गर्ने प्रक्रिया शुरु गर्ने प्रतिवद्धता यो सम्मेलन व्यक्त गर्दछ । चालू आर्थिक बर्षको बजेटमा उल्लेखित वैदेशिक रोजगार बचतपत्रको अवधारणालाई स्वागत गर्दै विप्रेषणवाट प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण तयार गरी देशभित्र रोजगारीका अवसरहरु बृद्धि गर्दै समग्र अर्थतन्त्रको विकासमा परिचालन गर्ने आवश्यकतामा यो सम्मेलन जोड दिन्छ ।
१०) गैरआवासीय नेपाली संघले दोस्रो विश्व सम्मेलनमा प्रस्तावित १० करोड अमेरिकी डलरको नेपाल लगानी कोष गैरआवासीय नेपाली संघ दर्ता भएको एक बर्षभित्र स्थापना गरी कार्यान्वयन प्रक्रियामा लैजान यो सम्मेलन पुनः प्रतिवद्धता व्यक्त गर्दछ । यसबाट गैरआवासीय नेपालीलाई व्यक्तिगत र सामूहिकरुपमा लगानी गर्ने अवसर प्राप्त हुने कुरामा यो सम्मेलन विश्वस्त छ ।
११) नेपालले सन् २०११ लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेको पर्रिप्रेक्षमा यसलाई सफल बनाउन गैरआवासीय नेपाली संघबाट पूर्ण सहयोग र र्समर्थन व्यक्त गर्दै एउटा साथी घर पठाउ अभियानलाई विगतको सम्मेलनमा दिइएको र्समर्थनको निरन्तरताका लागि आव्हान गर्छ ।
१२) काठमाडौ तराई जोड्ने द्रुत मार्ग, जलस्रोत योजना लगायत पूर्वाधार विकासमा सरकार निजी साझेदारी (PPP) को अवधारणा अनुसार निजी क्षेत्र तथा गैरआवासीय नेपाली संघ समेतको सहकार्य र सहभागितामा अगाडि बढ्न यो सम्मेलन जोड दिन्छ ।
१३) यो सम्मेलन सरकार निजी क्षेत्र साझेदारी (PPP) को अवधारणा अनुसार संचालित एक गाउं एक उत्पादनलाई समावेशी व्यवसायको रुपमा विकास र विस्तार गर्नका लागि गैरआवासीय नेपाली समुदायको संजाल परिचालनमा जोड दिन्छ ।
१४) रोजगारी तथा सीप विकासको उद्देश्यले स्थापित इलम प्रशिक्षण केन्द्रहरुको विस्तार एवं प्रभावकारी संचालनका लागि तीनवटै पक्षको सहकार्यलाई यो सम्मेलन जोड दिन्छ । वैदेशिक रोजगारीलाई श्रमिकको दक्षता बृद्धि र सीप विकाससंग आवद्ध गर्दै लैजानु पर्छ भन्ने कुरामा यो सम्मेलन जोड दिन्छ ।
१५) राष्ट्रिय गौरबको रुपमा रहेका बुद्धको जन्मस्थल लुम्बिनी, पवित्र धार्मिकस्थल जनकपुर, संसारकै अग्लो शिखर सगरमाथा लगायत अन्य धार्मिक, प्राकृतिक तथा मौलिक सांस्कृतिक सम्पदालाई सम्बन्धित देशमा परिचित गराउन विदेशस्थित नेपाली नियोगहरु र गैरआवासीय नेपाली संघका इकाईहरुले संयुक्त रुपमा पहल गर्ने छन् ।
१६) नेपालको मौलिक पहिचानलाई बढावा दिन केही राष्ट्रिय समन्वय परिषदको प्रयासमा भइरहेको नेपाल गृह निर्माण गर्ने कार्यको सराहना गर्दै अन्य राष्ट्रिय परिषदले पनि यस कार्यको अनुकरण गर्न यो सम्मेलन अभ्रि्रेरित गर्दछ ।
१७) विगतका सम्मेलन र यस सम्मेलनको घोषणामा उल्लेखित विषयहरुको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न एवं सुधारका पक्षहरु सिफारिस गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको प्रतिनिधित्व रहेको एक अनुगमन समितिको गठन गरिनेछ ।
१८) चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरुपमा सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सौजन्यकर्ता तथा सहयोगी संघ/संस्था र व्यक्तिप्रति यो सम्मेलन कृतज्ञता व्यक्त गर्दछ ।
१९) पाँचौं गैरआवासीय नेपाली विश्व सम्मेलन सन् २०११ को अक्टोवरमा काठमाडौमा आयोजना गरिने छ ।
For further information please click here
Press Releases
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्रOctober 15, 2009
भ्रम सृजना गर्ने समाचार प्रकाशित/प्रशारित नगर्न गैर आवासीय नेपाली संघको गम्भीर आग्रह
October 12, 2009
चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न - किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
October 11, 2009
Notice Board
NRN-ICC Members (2009~2011) ListOctober 16, 2009
Notice for Registration
October 9, 2009
चौथो गैरआवासीय नेपाली विश्वसम्मेलन उच्च स्तरीय आयोजक समितिको वैठक
October 3, 2009














